तेन्जिङ : बाल्यकालको क्विजदेखि सिनेमा हलसम्म

  • Oct 21, 2026
  • Opinions

तेन्जिङ नोर्गेसँग मेरो सम्बन्ध सगरमाथालाई मैले साँच्चिकै बुझ्नुभन्दा धेरै अघिदेखि सुरु भएको थियो। म प्राथमिक तहमा पढ्दा एकपटक हाजिरीजवाफ प्रतियोगितामा आफ्नो टोलीको नेतृत्व गर्दै सहभागी भएको थिएँ। प्रश्न आयो, “सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति को हुन्?” मैले एक क्षण पनि नसोची उत्तर दिएँ, “तेन्जिङ नोर्गे।” तर मेरो उत्तर अमान्य ठहरियो। कारण त्यतिबेला मेरो बालमनले बुझ्न सकेन, तेन्जिङसँगै एडमन्ड हिलारी पनि शिखरमा पुगेका थिए। त्यतिञ्जेल मैले हिलारीको नामसमेत खासै सुनेको थिइनँ। अलमलिँदै घर फर्किएँ र बुबासँग अनेक प्रश्न गर्न थालेँ। यदि तेन्जिङ र हिलारी सँगै सगरमाथा चढेका थिए भने ‘पहिलो’ कसरी एउटालाई मात्र भन्न सकिन्छ? तेन्जिङ त्यसपछि कहाँ गए? सगरमाथापछि उनको जीवनमा के भयो?

म १९९० को दशकको बालक थिएँ, त्यो समय, जब आजजस्तो सूचना औँलाको टुप्पोमै उपलब्ध हुँदैनथ्यो। बुबाले आफूले जानेको र सुनेको आधारमा उत्तर दिनुभयो, तेन्जिङको निधन भइसकेको छ, उनी भारतमा बसेका थिए, र दार्जिलिङमा उनको जीवन तथा पर्वतारोहणसँग जोडिएका धेरै स्मृतिहरू सुरक्षित छन्। बाल्यकालका ती संवादहरू मनको कुनै कुनामा चुपचाप बसिरहे। उमेर बढ्दै जाँदा हिमालहरू मेरो लागि टाढाबाट देखिने सेता चुचुरामात्र रहेनन्। ती हिमाल भित्रका पर्वतारोहणका इतिहास, त्यससंग सम्बद्ध आरोहीहरु, आरोहण अभियानहरू, सफलता, दुर्घटना, मृत्यु र पुराना तस्वीरहरूभित्र लुकेका कथाहरूले मलाई अझ गहिरो रूपमा तान्न थाले। सन् २०१० को दशकको सुरुवातसम्म आइपुग्दा हिमालहरुको इतिहास खोज्नु र पढ्नु मेरा सबैभन्दा गहिरा व्यक्तिगत रुचिमध्ये एक बनिसकेको थियो।

आज फर्केर हेर्दा, सामाजिक सञ्जालले मेरो त्यो यात्रालाई कति बदलिदियो भन्ने स्पष्ट देखिन्छ। पहिले भेट्टाउन कठिन हुने सामग्रीहरू अचानक पहुँचभित्र आउन थाले। पुराना तस्वीरहरू सजिलैसंग उपलब्ध हुन थाले, बिर्सिसकिएका आरोहण अभियानका कथा पुनः सतहमा आए, पर्वतारोही र उनीहरूका परिवारसँग प्रत्यक्ष सम्पर्क सम्भव भयो। यही नयाँ संसारमार्फत म तेन्जिङ नोर्गेको आफ्नै परिवारका सदस्यहरूसँग जोडिन पाएँ। त्यसमध्ये एउटा सम्बन्धले मलाई थाहै नदिई आज मैले लेखिरहेको यही चलचित्रको रिभ्यु सम्म ल्याइपुर्‍याएको छ।

सन् २०१५ मा तेन्जिङका जेठा छोरा नोर्बुले मलाई भन्नुभएको थियो, “भाइ, जेनिफर पीडमले निर्देशन गरेको ‘Sherpa’ भन्ने डकुमेन्ट्री छ। KIMFF मा देखाइँदैछ, गएर हेर।” त्यतिबेलासम्म म सिनेमा हलमा खासै जाने मान्छे थिइनँ। चलचित्रप्रति मेरो बुझाइ पनि प्रायः काल्पनिक कथामै सीमित थियो, मनोरञ्जनका लागि बनाइने कथा, जसबाट पर्वतारोहणको इतिहासलाई गम्भीर रूपमा अनुभूत गर्न सकिन्छ भन्ने मैले सोचेको थिइनँ। ‘Sherpa’ ले त्यो धारणा बदलिदियो। म कमलपोखरीस्थित कुमारी हल पुगेँ र सन् २०१४ को सगरमाथा हिमपहिरोपछि शेर्पा आरोहीहरूले भोगेका गहिरा वास्तविकतामाथि बनेको जेनिफर पीडमको वृत्तचित्र हेरेँ।

त्यो विषय मेरो लागि पहिलेदेखि नै अत्यन्त व्यक्तिगत थियो। सन् २०१४ मा सगरमाथामा हिमपहिरो जाँदा मैले घटनाक्रमलाई नजिकबाट पछ्याएको थिएँ। हिमालबाट समाचार बाहिरिन थालेपछि ती विवरण संसारसम्म पुर्‍याउनेमध्ये म पनि एक थिएँ। मैले समाचारमा पढेको, तस्वीरमा देखेको र लगातार पछ्याएको त्यो संसार अचानक विशाल पर्दामा जीवित भएर उभिँदा अनुभव नै अर्कै भयो। समाचार र तस्वीरले दिने अनुभूति एउटा थियो; सिनेमा हलको अँध्यारोमा त्यो पीडा, त्यो हिमाल र ती मानिसहरूको जीवन आँखाअघि चलायमान देखिनु बिल्कुलै फरक अनुभुति थियो।

वर्षहरू बिते। समय समयमा तेन्जिङको जीवनीमाथि फिल्म बन्ने समाचारहरू आउन थाले। कुनै समय बाराक र मिशेल ओबामाको Higher Ground Productions सँग जोडिएको एउटा परियोजनाको चर्चा भयो। पछि एप्पल सँग जोडिएको समाचार आयो। मनोरञ्जनसम्बन्धी समाचारमा जब–जब तेन्जिङको नाम आउँथ्यो, म त्यसलाई चासोका साथ पछ्याइरहन्थेँ। अनि सन् २०२५ को सुरुवाततिर एउटा समाचारले यो परियोजना अचानक कल्पनाबाट वास्तविकतामा झरेको अनुभूति गरायो। टम हिडल्स्टन Tenzing’ को छायांकनका लागि नेपाल आएका छन्। पाटन दरबार स्क्वायरमा खिचिएका छायांकनका तस्वीरहरू सञ्चारमाध्यममा फैलिन थाले। बाल्यकालको एउटा हाजिरीजवाफ प्रश्नबाट सुरु भएको कथा अब एउटा ठूलो अन्तर्राष्ट्रिय चलचित्रका लागि निर्माण हुँदै थियो।

एक वर्षभन्दा बढी समयपछि, चलचित्रको प्रिमियर नजिकिँदै गर्दा, एकदिन मेरो इन्स्टाग्राममा एउटा म्यासेज आयो। सन्देश तेन्जिङका कान्छा छोरा धामेको थियो। उहाँले काठमाडौँमा हुने प्रदर्शनमा म सहभागी हुन चाहन्छु कि भनेर सोध्नुभएको थियो र सम्भव भए मेरा लागि टिकटको व्यवस्था गर्ने बताउनुभएको थियो। केही क्षण म केवल त्यो सन्देश हेरिरहेँ। जाने इच्छा नहुने प्रश्नै थिएन। मैले लेखेँ, त्यहाँ उपस्थित हुन पाउनु मेरा लागि सम्मानको कुरा हुनेछ, सम्भव भए कृपया टिकट मिलाइदिनुहोस्। केही समयपछि धामेले फेरि लेख्नुभयो, सीमित आमन्त्रणसहितको प्रिमियर २८ सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ, आयोजकलाई पठाउन आफ्नो इमेल ठेगाना दिनुहोस्।

केही दिनपछि मेरो इमेलमा निमन्त्रणा आइपुग्यो। See-Saw Films ले मलाई ‘Tenzing’ को विशेष प्रदर्शनमा निम्त्याएको थियो भने बेलायती दूतावास, काठमाडौँले प्रिमियरपछिको पार्टीमा सहभागी हुन निमन्त्रणा गरेको थियो। मिति र समय निश्चित भयो, २८ सेप्टेम्बर २०२६ बेलुका ४ बजे पश्चात्। तर एउटा समस्या थियो, म विराटनगरमा थिएँ। त्यसैले २६ सेप्टेम्बरका लागि काठमाडौँको टिकट काटेँ। शाब्दिक अर्थमै भन्नुपर्दा, एउटा चलचित्र हेर्न म देशको एक छेउबाट अर्कोतर्फ यात्रा गर्दै थिएँ। तर मेरो लागि यो ‘एउटा चलचित्र’ मात्र थिएन। दशकौँअघि बाल्यकालको हाजिरीजवाफमा मैले आत्मविश्वासका साथ उच्चारण गरेको त्यही नामको कथा थियो, त्यही उत्तर, जसलाई कुनै समय अपूर्ण भनिएको थियो, तर जसले मेरो मनभित्र एउटा प्रश्नको ढोका खोलिदिएको थियो, जुन फेरि कहिल्यै पूर्ण रूपमा बन्द भएन।

२८ सेप्टेम्बरको दिउँसो करिब तीन बजे म सुन्धारास्थित QFX Civil Mall पुगेँ। हलभित्र प्रवेश गर्दा मसँग एउटा बाल्यकालीन प्रश्न मात्र थिएन। मसँग वर्षौँदेखि पढेको सगरमाथाको इतिहास थियो, तेन्जिङको परिवारसँग जोडिएको सम्बन्ध थियो, ‘Sherpa’ हेरेको स्मृति थियो, र एक दशकभन्दा लामो समयदेखि पछ्याउँदै आएको हिमालको इतिहास थियो। अब अन्ततः म तेन्जिङ नोर्गेको जीवनलाई ठूलो पर्दामा खुल्दै गएको हेर्न लागिरहेको थिएँ।

हलको बत्ती निभ्यो र ‘Tenzing’ सुरु भयो। त्यही क्षण मलाई थाहा थियो, म यो चलचित्र सामान्य दर्शक भएर हेर्दै थिइनँ। वर्षौँदेखि तेन्जिङको जीवन र सगरमाथाको इतिहास पढेको थिएँ, कहिलेकाहीँ उनका परिवारका सदस्यहरूसँग कुरा गरेको थिएँ, र बाल्यकालदेखि नै उनको कथा मनभित्र बोकेर हिँडिरहेको थिएँ। मेरो अपेक्षा सगरमाथाको पहिलो आरोहणमाथि बनेको अर्को एउटा चलचित्र हेर्नु मात्र थिएन। म तेन्जिङलाई अन्ततः आफ्नै कथाको केन्द्रमा उभिएको हेर्न चाहन्थेँ। यही ठाउँमा जेनिफर पीडमको चलचित्र सुन्दर रूपमा प्रस्तुत भएको छ।

गेन्डेन फुन्त्सोकले तेन्जिङको भूमिकामा गरिमा भरेका छन्। टम हिडल्स्टनले एडमन्ड हिलारीलाई प्रतिस्पर्धीका रूपमा होइन, तेन्जिङसँग मिलेर पर्वतारोहण इतिहासका महान् उपलब्धिमध्ये एक हाँसिल गर्ने सहयात्रीका रूपमा प्रस्तुत गरेका छन्। कैट्रियोना बाल्फ, विलेम डाफो, थिन्ले ल्हामो र अन्य कलाकारहरूको अभिनयले पनि चलचित्रलाई जीवन्त बनाएको छ।

सन् १९५० को दशकको हिमाल पर्वतारोहणको ईतिहास फर्काउन निर्माण टोलीले असाधारण मेहनत गरेको स्पष्ट देखिन्छ। पहिरन, जुत्ता, डोरी, अक्सिजन उपकरण, पाल तथा अभियानमा प्रयोग हुने अन्य सामग्रीले चलचित्रलाई हेर्न लायक बनाएका छन्। पर्वतारोहीहरूको हिँडाइ, आरोहण शैली र उपकरण सम्हाल्ने तरिकाले धेरै दृश्यलाई वास्तविकतासँग नजिक पुर्‍याउँछ। गेन्डेन, टम, बाल्फ, डाफो, थिन्ले र बाँकी कलाकारहरूको सामूहिक अभिनयले समग्र कथालाई वजन दिएको छ।

मलाई विशेष रूपमा मन परेको पक्ष के हो भने, तेन्जिङलाई उचाल्न हिलारीलाई होच्याइएको छैन। बरु चलचित्रले यी दुई पुरुषबीच क्रमशः गहिरिँदै गएको विश्वास, र सहयात्रालाई देखाउँछ। सन् १९५३ को शिखरारोहणलाई एउटाको उपलब्धि नभई दुई जनाले हाँसिल गरेको उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। यो दृश्यले मलाई फेरि त्यही प्राथमिक विद्यालयको हाजिरीजवाफमा पुर्‍यायो, जहाँ मैले “तेन्जिङ नोर्गे” भनेको थिएँ र उत्तर अपूर्ण ठहरिएको थियो। दशकौँपछि म ढुक्क छु, त्यो प्रश्नको सबैभन्दा अर्थपूर्ण उत्तर वास्तवमा एउटै नाम होइन, “तेन्जिङ नोर्गे र एडमन्ड हिलारी” हो।

तर वास्तविक जीवनकथामा आधारित चलचित्र भएकाले यसले देखाएका केही दृष्यहरु भनें व्यक्तिगत रुपमा मलाई चित्त बुझेनन्। चलचित्रको आरम्भतिरै बालक तेन्जिङ र जर्ज म्यालोरीबीच भेट भएको दृश्य देखाइन्छ। ऐतिहासिक रूपमा त्यो दृश्य मलाई विश्वसनीय लागेन। तेन्जिङको बाल्यकालमा म्यालोरीसँग प्रत्यक्ष भेट भएको भन्ने बलियो ऐतिहासिक प्रमाणबारे म जानकार छैन। तेन्जिङको वास्तविक जीवन स्वयं यति असाधारण छ कि त्यसमा दृष्य थप्न कल्पित भेटको आवश्यकता नै थिएन जस्तो लाग्छ। यस्तो दृश्य हेर्नमा सामान्य लाग्न सक्छ, तर चलचित्र हेर्ने धेरै दर्शकले पर्दामा देखाइएको उक्त घटनाक्रमलाई ईतिहासकै अंश ठान्ने सम्भावना हुन्छ।

लोकेसन छनोटमा पनि केही ठाउँमा म पूर्ण रूपमा सन्तुष्ट हुन सकिनँ। नेपालको सगरमाथा क्षेत्र, त्यसको भूगोल, दृश्य र प्रकृतिसँग परिचित दर्शकका रूपमा मलाई चलचित्रका केही दृश्यहरूले खुम्बु र वरिपरिकोको अनुभूति दिएनन्। मुस्ताङको भू-दृश्य आफैँमा असाध्यै सुन्दर छ, तर मुस्ताङ र खुम्बुको भूगोल, रङ, बनावट र वातावरण एकदम फरक छन्। ती क्षेत्र चिनेका दर्शकका लागि त्यो भिन्नता स्पष्ट देखिन्छ। केही क्षण म छायांकनको दृष्यमा रमाईरहेको भएपनि मनभित्र अर्के आवाज उठ्थ्यो, “यो सगरमाथाजस्तो त लागेन।”

तेन्जिङको पछिल्लो जीवनसँग सम्बन्धित दृश्यका लागि बन्दीपुरको प्रयोगले पनि मलाई त्यस्तै अनुभूति गरायो। दार्जिलिङ तेन्जिङको जीवन, परिवार, सार्वजनिक पहिचान र पछिल्लो जीवनसँग गहिरो रूपमा गाँसिएको ठाउँ हो। मेरो विचारमा ती दृश्य दार्जिलिङमै छायांकन गरिएको भए इतिहाससँग पनि नजिक हुन्थे, र अझ शक्तिशाली बन्न सक्थे।

यद्यपि यी कमजोरीहरूले चलचित्रले हासिल गरेको ठूलो उपलब्धिलाई छायामा पार्दैनन्। यसको सबैभन्दा ठूलो शक्ति यही हो, यसले तेन्जिङलाई हिलारीसँगै उभिएको एउटा प्रसिद्ध शिखर तस्वीरको ‘शेर्पा’ पात्रभन्दा धेरै पर लगेर देखाउँछ। चलचित्रले उनको महत्वाकांक्षा, बारम्बारका सगरमाथा प्रयास, पारिवारिक जीवन, कठिनाइ, आत्मविश्वास , संघर्ष र आफूलाई स्वतन्त्र पर्वतारोहीका रूपमा स्थापित गर्ने चाहनालाई ठाउँ दिएको छ।

‘शिखरमा पहिलो पाइला कसले टेक्यो?’ भन्ने पुरानो प्रश्नलाई पनि चलचित्रले परिपक्वताका साथ सम्हालेको छ। उपलब्धिलाई प्रतिस्पर्धामा बदल्नुको सट्टा यसले सम्झाउँछ, पृथ्वीको सर्वोच्च शिखरमा दुई आरोही एकअर्कामाथिको विश्वास र निर्भरताका कारण पुगेका थिए। एउटालाई सम्मान दिन अर्कोको कद घटाउन आवश्यक छैन।

मेरो लागि ‘Tenzing’ एउटा विख्यात पर्वतारोहीको जीवनकथा मात्रै होईन, अत्यन्त आवश्यक र धेरै ढिलो गरेर बनेको एउटा महत्वपूर्ण चलचित्र हो। केही दृश्य अझ बलियो ऐतिहासिक प्रमाणका आधारमा बन्न सक्थे। केही लोकेसन तेन्जिङको वास्तविक भूगोलसँग अझ नजिक हुन सक्थे। तर कलाकारहरूको अभिनय, तत्कालीन समयको पहिरन, पर्वतारोहण उपकरण, आरोहण शैली र निर्माण टोलीले गरेको समग्र मेहनतले चलचित्रलाई उल्लेखनीय विश्वसनीयता दिएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा जेनिफर पीडमले तेन्जिङ नोर्गेलाई अन्ततः आफ्नै कथाको केन्द्रमा उभिन पर्याप्त स्थान दिएकी छन्। र गेन्डेन फुन्त्सोकले त्यो जिम्मेवारीलाई अत्यन्त गरिमामय ढंगले निर्वाह गरेका छन्।

म विराटनगरबाट काठमाडौँ एउटा चलचित्र हेर्न आएको थिएँ, मेरो बाल्यकालका नायकमध्ये एकको जीवनमाथि बनेको चलचित्र। हलभित्र प्रवेश गर्दा मसँग ती प्रश्नहरू थिए, जुन मैले पहिलोपटक सानो बालक हुँदा बुबालाई सोधेको थिएँ। चलचित्र सकेर बाहिर निस्कँदा मलाई लाग्यो केही अपूर्णता हुँदाहुँदै पनि, तेन्जिङलाई अन्ततः त्यो पर्दा मिलेको छ, त्यो आवाज मिलेको छ, र इतिहासको कथाभित्र त्यो स्थान मिलेको छ, जसको लागि उनको जीवन सधैँ हकदार थियो।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x